Skip to main content
राजनीतिNagarik News

सुनसरीमा तीन सवारी आपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृ’त्यु, पाँच जना घाइते

Read the full story at Nagarik News

सुनसरीमा तीन सवारी आपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृ’त्यु, पाँच जना घाइते

सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा ७ वर्षीया एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। इनरुवा नगरपालिका-०५ बलाहास्थित भित्री सडक-खण्डमा बुधबार साँझ करिब ५ बजे उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटर र सोही दिशाबाट आउँदै गरेको साइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी कुल ६ जना घाइते भएका थिए। गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका-०९ बस्ने सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। उनलाई उपचारकै क्रममा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा स्कुटर चालक इनरुवा नगरपालिका-०७ बस्ने अन्दाजी ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-०३ बस्ने अन्दाजी २२ वर्षीय सागर सरदार रहेका छन्। त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा इनरुवा नगरपालिका-०५ बलाहा बस्ने अन्दाजी ४७ वर्षीय साइकलयात्री इन्द्रजित मण्डल घाइते भएका छन्।