Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

गाईको नाकको डोरी

Read the full story at Onlinekhabar (Nepali)

गाईको नाकको डोरी

गाईलाई दूध उत्पादन गर्ने मेसिनजस्तो गरी दोहन गर्नु पशुप्रतिको अपराध मात्र होइन, मानव कल्याणका दृष्टिले पनि प्रतिकूल कार्य हो । हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन् । गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । काठमाडौं उपत्यकामा सयौंको सङ्ख्यामा रहेका गाईगोठमध्ये सीमित गाईगोठहरू मात्रै गाईको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ र खुला वातावरणमा निर्मित छन् । अधिकांश भने साँघुरा र घुमफिर गर्न नमिल्ने गरी किला र डोरीको भरमा सञ्चालन गरिएका छन् ।

म बसेको टोलवरपर आधा दर्जन गाईगोठ सञ्चालनमा छन् । तीमध्ये नजिक रहेको गोठमा वर्षको दुई–चार पटक जाने काम पर्दा त्यहाँको अवस्था नजिकैबाट अवलोकन गर्ने गर्छु । त्यहाँ देखेका दृश्य अर्को पटक गएर नवीकरण नगरेसम्म मनमा गढेर बस्छन् । अक्सर मेरो नजर गाईको नाक र घाँटीमा कसिएका डोरी र ती डोरीले बनाएका गहिरा डाम र घाउमा पर्छ । साँघुरो गोठमा गाईहरू कोचाकोच गरेर राखिएका हुन्छन् ।

शरीर फर्काउन, दुई पाइला हिँड्न र ढल्किन पनि ठाउँ हुँदैन । दूध दिने गाई प्रशस्त देखिन्छन्, तर बाछाबाछी विरलै भेटिन्छन् । पोषिलो दूधका लागि गाईको जात र आहारसँगै बसोबास र हिँडडुलको वातावरण पनि स्वच्छ हुनुपर्ने परम्परागत र लिखित मापदण्डहरू प्रचलनमा छन् ।