Skip to main content
राजनीतिNepal Khabar

बात बहादुर होइन, काम बहादुर बनौँ: ओली

Read the full story at Nepal Khabar

बात बहादुर होइन, काम बहादुर बनौँ: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले 'बात बहादुर' नभई 'काम बहादुर' बन्न आग्रह गरे। 'हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ। विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ।

आपसी घृणा, लोभ, छलकपट र स्वार्थ त्यागेर प्रेम, करुणा, इमानदारी र सहकार्यको भावना विकास गर्नुपर्छ,' ओलीले भने। उनले बस्नलायक समाज निर्माणका लागि नागरिकको नैतिक बल, नैतिक भावना र सांस्कृतिक मनोवृत्ति उन्नत हुनुपर्ने बताए। समाजको नैतिक तथा सांस्कृतिक अवस्था सुधार गर्नसके राजनीति र अर्थतन्त्रलाई समेत सकारात्मक दिशामा अघि बढाउन सकिने उनको भनाइ छ। 'हामी सबैले बस्नयोग्य, सभ्य र समुन्नत समाज निर्माण गर्न आफ्नो नैतिक, सांस्कृतिक र मानवीय चेतना उँचो बनाउन आवश्यक छ।

राजनीति र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने आधार पनि यही नैतिक चेतना हो,' उनले भने। ओलीले समाजमा परस्पर घृणा, लोभ, षड्यन्त्र र जालझेलको प्रवृत्ति बढ्न नहुनेमा जोड दिए। अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने उनले टिप्पणी गरे।