Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

Read the full story at Onlinekhabar (Nepali)

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ । मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजक समितिले जनाएको छ । ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ प्रदेश प्रतिनिधि र १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनबाट गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन हुनेछ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।

कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा राजीव गुरुङ (दीपक मनाङे) को नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएका छन् । बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।