जेनजी आन्दोलनमा जलेको भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै
Read the full story at Ratopati

काठमाडौँ । जेनजी आन्दोलनमा आगजनीमा परेको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै छ । प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि टंगाल स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुल्ने भएको हो । कम्पनीले गत वर्षको जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा स्टोरलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको छ । बाँकी दुईवटा स्टोर (दमक र हेटौँडा) को पुनःनिर्माण अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
भाटभटेनी सुपर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले विषम परिस्थितिमा साथ दिने ग्राहक, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । 'मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए । तर, पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,' उनले भनेका छन्, 'हामी एउटा निष्कर्षमा पुग्यौँ- खरानीबाट फेरि उठ्ने छौँ । ' जेनजी विद्रोहमा आगजनी भएर ठूलो क्षति ब्योहोरेको भाटभटेनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित गरेको थियो । कर्मचारीलाई बोनस कटौती नगरी, रोजगारीबाट नहटाई कम्पनीले आफ्नो व्यावसायिक उत्तरदायित्व पूरा गरेको थियो ।
'हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्षको दसैँ बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौँ,' अध्यक्ष गुरुङले विज्ञप्तिमार्फत भनेका छन् । भाटभटेनीले आफ्ना ग्राहकहरूलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । 'हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरू, चौबीसै घण्टा खटेर पुनःनिर्माण गर्ने कर्मचारीवर्ग र भगवान्रुपी ग्राहकप्रति नमन गर्न चाहन्छौँ,' अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरेका छन् । टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकहरूलाई नियमित रूपमा सेवा दिइने र गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीले जनाएको छ ।
More politics
- आज एमालेका दुईवटा महत्वपूर्ण बैठक बस्दैNepal Khabar
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दैNepal Khabar
- गोरुगाडामा मोटरसाइकल ठोकिँदा युवकको मृत्युNepal Khabar
- रास्वपाको सचिवालय बैठक बस्दैNepal Khabar
- पटेल–रमणले अलपत्र पारेको सुनकोसी मरिणमा काम गर्न चीन, भारत र भियतनामका कम्पनीको प्रस्तावNepal Khabar
- घरमा आगो लाग्दा हजुरबाको मृत्यु, नातिनीले भागेर जोगाइन् ज्यानNepal Khabar