Skip to main content
अर्थतन्त्रRatopati

फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

Read the full story at Ratopati

फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

काठमाडौं । नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको झल्काउने दृश्य तयार गरी सार्वजनिक गरिएको खुलेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको उक्त स्टन्टलाई वास्तविक पक्राउ भन्दै भिडियो भाइरल भएपछि निर्माण टिमले स्पष्टीकरण दिएको छ । चलचित्र प्रचारका लागि कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्य तयार गरिएको भए पनि त्यसलाई वास्तविक घटनाजस्तै प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यस्ता गतिविधिलाई मजाकका रूपमा लिन नहुने र भ्रम फैलाउनेमाथि कारबाही हुनुपर्ने आवाजसमेत उठेको छ । यसैबिच माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेख्दै उक्त दृश्य चलचित्रको कथावस्तुअनुसार तयार गरिएको काल्पनिक दृश्य भएको स्पष्ट पारेको छ । निर्माण कम्पनीका अनुसार चलचित्रको छायांकन तथा प्रचारप्रसारका क्रममा प्रहरीसँग अनुमति लिएर उक्त दृश्य तयार गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सोही दृश्य पुनः प्रस्तुत गरिएको थियो ।

कम्पनीले कुनै पनि कलाकार, निर्देशक वा चलचित्रकर्मी वास्तविक रूपमा पक्राउ नपरेको जनाएको छ । आगामी दिनमा यस्ता प्रचारात्मक गतिविधि गर्दा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यसअघि कलाकार गौरी मल्ललगायत पक्राउ परेको भनेर भ्रमपूर्ण प्रचार भएका थिए ।