Skip to main content
राजनीतिNagarik News

‘आगामी स्थानीय र प्रदेश चुनावमा एमाले पहिलो पार्टी बन्छ’

Read the full story at Nagarik News

‘आगामी स्थानीय र प्रदेश चुनावमा एमाले पहिलो पार्टी बन्छ’

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्। शनिबार बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आगामी चुनाव र वर्तमान सरकारविरुद्धको आन्दोलनलाई केन्द्रमा राखेर पार्टीले दुईवटा रणनीति बनाइरहेको बताए। विगतमा एमाले नेतृत्वको सरकारले गरेका कामका गाथा र एजेन्डा लिएर जनतामाझ जाने उनको भनाइ थियो।

बस्नेतले वर्तमान सरकारको नौ महिने कार्यकाल कुशासन, भ्रष्टाचार, अनियमितता र महँगीमा डुबेको आरोप लगाए। ग्यासको मूल्य बढाइएको र युवालाई झुठो आश्वासन दिइएको जिकिर गर्दै उनले यो अवधिलाई बालेनको असफल कार्यकालका साथै अधिनायकवाद, निरङ्कुशता र प्रतिशोधतर्फको यात्रा भएको टिप्पणी गरे। वर्तमान सरकारको आयु लामो नरहेको दाबी गर्दै बस्नेतले यसलाई आउँदो नयाँ वर्ष देखाउन नहुने बताए।

उनले रास्वपा र सो पार्टीका नेताहरूमाथि खरानी ग्याङ र सहकारी ठगीलगायतका आरोप लगाउँदै जनहितविरोधी कार्यनीतिको भण्डाफोर गर्न विचार मिल्ने अन्य दलसँग निर्वाचनमा कार्यगत एकता र सडकमा संयुक्त सङ्घर्ष गरिने उल्लेख गरे। पार्टीको आधारभूत तहलाई मजबुत बनाउन आगामी कात्तिक २६ गते वडा तहको र पुस ४ गते पालिका तहको अधिवेशन गरिने सचिव बस्नेतले जानकारी दिए।