Skip to main content
अर्थतन्त्रRatopati

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

Read the full story at Ratopati

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । उनका अनुसार प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ । बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ ।

सेतो हेरोइन प्रतिग्राम ४० हजारको दरले कारोबार हुने अनुसन्धान अधिकृतहरू बताउँछन् । सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे छन् । शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो । पक्राउ परेका भारतीय यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ ।

उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ । उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ ।