Skip to main content
अर्थतन्त्रHimal Khabar

कर्णालीको कहर कम गर्ने सडक सञ्जाल

Read the full story at Himal Khabar

कर्णालीको कहर कम गर्ने सडक सञ्जाल

संघीयतापछि कर्णालीमा विस्तार भएको सडक सञ्जालले नागरिकको जीवनशैली र अर्थतन्त्रमा परिवर्तन ल्याएको छ। बिरामीलाई अस्पताल पुर्‍याउन र कृषकलाई उत्पादन बजारसम्म लैजान सहज भएको छ। हुम्लाको चंखेली गाउँपालिका–२, दार्माकी ३६ वर्षीया पूर्णकली नेपालीलाई ११ वर्षअघि झाडाबान्ताले सतायो। तीन दिनसम्म लगातार झाडाबान्ता भएपछि परिवारले अस्पताल लैजाने तयारी गर्‍यो। “न सडक थियो, न त गाडी,” उनका श्रीमान नगिन्द्र परियार भक्कानिँदै पुराना दिन सम्झिन्छन्, “बुढीको अवस्था गम्भीर भएपछि मुगु सदरमुकाम गमगढी पुर्‍याउन डोकोमा लैजाँदै थियौं, आधाबाटैमा बुढीले प्राण त्यागी।

” बिरामी श्रीमतीलाई मुगु जिल्ला अस्पताल पुर्‍याएर निको बनाई घर फर्काउन हिंडेका नगेन्द्र शव बोकेर फर्किए। त्यसबेला अहिलेजस्तो सडक र गाडी भएको भए श्रीमतीले अकालमा ज्यान गुमाउन नपर्ने उनको बुझाइ छ। तीन वर्षअघि नगेन्द्रको जीवनमा फेरि अर्को समस्या आइलाग्यो। उनका तीन वर्षीय नाति निमोनियाले सिकिस्त भए। कडा खालको निमोनिया भएपछि परिवारका सबै सदस्य आत्तिए।

नगेन्द्रले यस पटक नातिलाई न डोकोमा बोक्नपर्‍यो, न त स्ट्रेचरमा! नातिलाई जीपमा हालेर जिल्ला अस्पताल मुगु पुर्‍याए। समयमै उपचार पाएपछि नातिलाई बिसेक भयो। “अहिले त बाटो बनेर हामीलाई धेरै सजिलो भयो,” उनले भने, “धेरै सडक बने, गाउँ गाउँमा गाडी पुगेको छ, सडक बनेयता हामीलाई उपचार गर्न सीमकोटभन्दा गमगढी जान नजिक पर्छ।