Skip to main content
अर्थतन्त्रThaha Khabar2 outlets covering

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

Read the full story at Thaha Khabar

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले आज दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन्।

भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो। भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे। नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र यहाँको चिसो हावापानीका कारण सूचना प्रविधि तथा डेटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।

यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठूलो अवसर रहेको जानकारी उनले गराए। नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए।