Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

Read the full story at Onlinekhabar (Nepali)

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् ।

नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड फ्रग’ नाम दिइएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भएको छ । अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा नयाँ प्रजाति पहिचान गरेको हो । यसको शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा नयाँ प्रजाति भएको पुष्टि गरिएको हो ।

अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइमा रहेका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ । सदाबहार चौडा पात भएका रूखहरू यसको प्रमुख बासस्थान हुन् । हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।