Skip to main content
अर्थतन्त्रNagarik News

स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

Read the full story at Nagarik News

स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्‍याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ। फुङ्ग्रका लीलाराम रोकायाका लागि यस वर्षको सिजन आठ वर्षको कडा मेहनतको मीठो प्रतिफल बनेको छ। आठ वर्षअघि रोपेका एक हजार ६ सय फल्ने बिरुवाबाट उत्पादित स्याउ उनले बगैँचामै प्रतिकिलो १०५ रुपैयाँका दरले बिक्री गरे।

‘मैले अहिलेसम्म २१ लाख रुपैयाँ आम्दानी लिइसकेँ, अझै ४० क्विन्टल बिक्री गर्न बाँकी छ,’ लीलारामले भने। गत वर्ष ७७ कार्टुन मात्र उत्पादन भएको उनको बगैंचाबाट यस वर्ष १ हजार ६ सय कार्टुन स्याउ निस्किएको छ। सोही गाउँका रामचन्द्र रोकायाले चार सय फल्ने बिरुवाबाट प्रतिकिलो ९५ रुपैयाँका दरले ९ लाख ४० हजार रुपैयाँको स्याउ बिक्री गरे। सात सय फल्ने बिरुवा भएका परिलाल रोकायाले साढे ११ लाख रुपैयाँ कमाए। अर्का किसान नर्मजङ रोकायाले चार सय बिरुवा र ठेक्काको बगैँचाबाट ७ लाख रुपैयाँ आम्दानी गरेका छन्।

गत वर्ष उनको आम्दानी ६ लाख थियो। १०६ भन्दा बढी घरधुरी रहेको फुङ्ग्रका अधिकांश परिवार व्यावसायिक स्याउ खेतीमा आबद्ध छन्। गाउँका साना किसानले समेत यस वर्ष न्यूनतम १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्।