Skip to main content
समाजThaha Khabar

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

Read the full story at Thaha Khabar

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

काठमाडौं : ‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठा परिकारमध्ये एक हो– सेलरोटी। तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी स्वादको परिकार मात्र होइन, नेपाली मौलिक खानपान, कृषि जीवनशैली र सामाजिक सम्बन्धको एउटा विशिष्ट पहिचान पनि हो। दसैँमा मासुका विभिन्न परिकार र मिठाईको विशेष महत्व भएजस्तै तिहारमा सेलरोटी, फलफूल, मिठाई र रङ्गीचङ्गी फूलको आफ्नै सांस्कृतिक महत्व छ।

घरघरमा चामलको पिठो मुछेर तेल वा घिउमा पकाइने सेलरोटीले तिहारको आगमनसँगै नेपाली भान्सामा छुट्टै रौनक ल्याउँछ। दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, कोसेली, पूजाआजा, पारिवारिक जमघट र देउसीभैलोको उत्सवमा पनि सेलरोटी अभिन्न परिकारका रूपमा रहँदै आएको छ। नेपाली मौलिक खानाको प्रवर्द्धनमा सक्रिय खाद्य विश्लेषक शारदा ज्ञवाली सेलरोटीलाई ‘फेस्टिभ फास्टफुड’का रूपमा मात्र नभई कृषि उपज भित्र्याउँदाको खुसीयाली र नेपाली जीवनशैलीसँग जोडिएको परिकारका रूपमा लिन्छिन्। उनका विचारमा चाडपर्व र खानाबीच गहिरो सम्बन्ध छ।

मौसम परिवर्तनसँगै नेपाली खानपानमा देखिने विविधतामध्ये सेलरोटी पनि एउटा महत्वपूर्ण हिस्सा हो। परम्परागत नेपाली समाजमा बजारिया मिठाई, चकलेट, पेँडा र अन्य परिकारको पहुँच गाउँघरसम्म सहज नभएको समयमा सेलरोटी विशेष उत्सव र खुसीयालीको खानाका रूपमा प्रचलित थियो।