Skip to main content
वातावरणBizmandu

वायु प्रदूषण बढेपछि दिल्ली-एनसीआरमा कडा प्रतिबन्ध, धुलो उडाउने काम गर्न नपाइने

Read the full story at Bizmandu

वायु प्रदूषण तीव्र बनेपछि भारत सरकारले राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा प्रदूषण नियन्त्रणसम्बन्धी कडा व्यवस्था लागू गरेको छ। वायु गुणस्तर थप बिग्रिने पूर्वानुमानपछि सरकारले शुक्रबारदेखि ग्रेडेड रेस्पोन्स एक्सन प्लान (ग्र्याप) को तेस्रो चरण (स्टेज–३) लागू गरेको हो। वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले दिल्लीसहित राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्कालै लागू हुने गरी प्रतिबन्धात्मक व्यवस्था गरेको हो। शुक्रबार दिल्लीको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ३८२ पुगेको थियो।

यो ‘अत्यन्त खराब’ अवस्था हो। राजधानीका कतिपय निगरानी केन्द्रमा भने एक्यूआई ४०० नाघेर ‘सिभियर’ अर्थात् गम्भीर प्रदूषणको अवस्थामा पुगेको थियो। मौसम प्रतिकूल हुने र हावाको गति घट्ने पूर्वानुमानपछि आयोगले जोखिम थप बढ्न नदिन सावधानीस्वरूप तेस्रो चरण लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार दिल्ली–एनसीआरमा अत्यावश्यकबाहेकका निर्माण तथा भत्काउने गतिविधिमा रोक लगाइएको छ।

माटो खन्ने, जग खन्ने, पाइलिङ गर्ने, सडक निर्माण तथा धुलो उडाउने अन्य काम गर्न पाइने छैन। स्टोन क्रसर, खानी तथा स्वच्छ इन्धन प्रयोग नगर्ने हटमिक्स प्लान्टसमेत बन्द गरिनेछ। त्यस्तै, दिल्ली र आसपासका गुरुग्राम, फरीदाबाद, गाजियाबाद तथा गौतमबुद्ध नगरमा बीएस–३ पेट्रोल र बीएस–४ डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा प्रतिबन्ध लगाइएको छ।