Skip to main content
अर्थतन्त्रSetopati

दस दिनमा १० करोड कमाएको 'कबड्डी ५'ले पछिल्लो साता थप्यो १ करोड ६३ लाख मात्रै

Read the full story at Setopati

दस दिनमा १० करोड कमाएको 'कबड्डी ५'ले पछिल्लो साता थप्यो १ करोड ६३ लाख मात्रै

रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले बक्स अफिसमा १२ करोड रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। फिल्मले कात्तिक २२ गते आइतबारसम्म उक्त कमाइ गरेको हो। प्रदर्शनको सुरूआती १० दिनमा १० करोड रुपैयाँको आँकडा पार गरेको फिल्मको पछिल्लो सात दिनको व्यापार भने तुलनात्मक रूपमा सुस्त देखिएको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको १७ दिन अर्थात् आइतबारसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रूपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्स अफिस विवरणमा उल्लेख छ। यस अवधिमा फिल्मका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री भएका छन्।

यसअघि प्रदर्शनको १० दिन अर्थात् पहिलो आइतबारसम्म फिल्मले १० करोड ७६ लाख ७३ हजार ७१५ रूपैयाँ ग्रस कमाइ गरेको थियो। त्यतिबेला ३ लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएका थिए। यसअनुसार पहिलो १० दिनमा १० करोड ७६ लाख रूपैयाँभन्दा बढी कमाएको फिल्मले पछिल्लो सात दिनमा १ करोड ६३ लाख १८ हजार ५३० रूपैयाँ मात्रै थपेको छ। पछिल्लो अवधिमा ५९ हजार ४५७ वटा टिकट बिक्री भएका छन्। पहिलो १० दिनमा फिल्मको दैनिक औसत ग्रस कमाइ १ करोड ७ लाख रूपैयाँभन्दा बढी थियो।

तर पछिल्लो सात दिनमा दैनिक औसत कमाइ घटेर करिब २३ लाख ३१ हजार रूपैयाँमा सीमित भएको छ। यसले सुरूआती उत्साहपछि फिल्मको व्यापारको गति केही सुस्ताएको देखाउँछ। यद्यपि, फिल्मले समग्रमा १२ करोड रूपैयाँभन्दा बढी कमाइ गरिसकेको छ।