Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बढ्यो मादलको माग

Read the full story at Onlinekhabar (Nepali)

बढ्यो मादलको माग

२२ कात्तिक, नवलपुर (नवलपरासी) । युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताए। विगतका वर्षहरुमा चाडपर्वका समयमा मात्र केही मात्रामा मादलको माग हुने गरेको स्मरण गर्दै नेपालीले अहिले मादलको बजार सदाबहार रहेको र त्यसमा तिहारको समयमा कारोबार बढ्दै गएको बताए ।

“मैले मादल बनाउन सुरु गर्दा मादलको माग राम्रो थियो । नाचगानमा स्पिकर बजाएर गरेर उफ्रिँदैनथे”, उनले विगतलाई स्मरण गर्दै भने, “अघिल्लो केही वर्षमा स्पिकरले खाएको मादलको बजार फेरि पुरानै लयमा फर्किएको छ । ” हिजो आज नाचगानमा स्पिकर बज्ने गरेको भए पनि मादल अनिवार्य जस्तै प्रयोग हुन थालेपछि माग बढ्दै गएको नेपालीले बताए। नेपालीको मौलिक तथा परम्परागत बाजाको संरक्षणमा स्थानीय तहले चासो देखाउनु र नयाँ पुस्तामा संस्कृतिप्रति माया बढ्दै जाँदा मादलको कारोबार बढेको हुनसक्ने उनको भनाइ छ ।

“तीन चार वर्ष अगाडिसम्म त मादल व्यवसाय सङ्कटमै जाने अवस्थामा पुगेको थियो”, नेपालीले भने, “अहिले भने राम्रो हुँदै गएको छ। ’ नेपालीलाई मादल बनाउन घरका अन्य दुई जना सदस्यले साथ दिने गरेका छन् । मादल बनाउने कममा तीन जनानै दिनभर व्यस्त रहने गरेको उनकी श्रीमती चन्द्रा नेपालीले बताइन् ।