Skip to main content
राजनीतिNagarik News

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

Read the full story at Nagarik News

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ। कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले आज पेभिलियन उद्घाटन गरेका हुन्। नेपालको जलवायु महत्वाकाङ्क्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए। उनले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिए। नेपाल जस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उनको भनाइ थियो।

मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज र सुलभ बनाउन तथा हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण र तल्लो तटीय क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए। उनले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्‍याए।