Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

दसैँ, तिहार र छठपछि सरकारविरुद्ध 'ठुलो विद्रोह' हुन्छ : वर्षमान

Read the full story at Nepal Khabar

दसैँ, तिहार र छठपछि सरकारविरुद्ध 'ठुलो विद्रोह' हुन्छ : वर्षमान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवारीविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दसैँ, तिहार र छठपछि सरकारविरुद्ध ठुलो विद्रोह हुने बताए। ३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरूले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए। '३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे? जनताको चुल्होमा ग्यास छैन के गरे?

किसानलाई मल छैन, के गरे? महंगीले आकाश छोएको छ, के गरे', पुनले भने, 'यो स्वेच्छाचारी, निरंकुश र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दसैँ, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ। ' सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको भन्दै उनले स्वाधीनता बचाउन जनताले विद्रोह गर्ने समय आएको दाबी गरे। यस्तै उनले वितेको ३५ वर्षलाई देशको अभिसापका रुपमा व्याख्या गरेर जनता भड्काउनेहरुको सरकारले त्यही ३५ वर्षमा मुलुकको उच्च प्रशासनिक र सैनिक नेतृत्वमा रहेर हालीमुहाली गरेकाहरूलाई खोजीखोजी महत्त्वपूर्ण जिम्मेवारी दिइरहेको उल्लेख गरे। पुनले आफूहरुले पार्टी पुनर्गठन र सुदृढीकरण, वाम शक्तिबीच एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य र व्यवस्था तथा संविधानको रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माणको कामलाई एकैसाथ अघि बढाइरहेको बताए।

रास्वपाले 'थ्री डी' अर्थात् 'युथ डेमोग्राफी', 'डिजिटल ट्रान्सफर्मेशन' र 'डायसपोरा' मार्फत एकै साथ स्थापित पार्टीहरुविरुद्ध ३५ वर्षमा केही पनि भएन भनेर भ्रम फैलाउन सफल भएको भन्दै आफूहरू ती क्षेत्रमा बलियो उपस्थिति जनाउने कार्ययोजनासहित अघि बढेको उल्लेख गरे। आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्ति गर्नुका साथै रोजगारी वा अध्ययनको सिलसिलामा विश्वभर छरिएका नेपालीका एजेन्डा बोक्ने उनको भनाइ छ। नेपालको जनसंख्याको ४५ प्रतिशत हिस्सा १५ देखि ३९ वर्ष उमेर समूहले ओगटेको भन्दै उनले त्यो समूहलाई नेतृत्वदायी भूमिकामा ल्याउने गरी आफहरुले बहस गरिरहेको जनाए।