Skip to main content
राजनीतिSetopati

लुम्बिनी शीर्ष स्थानमा पक्का, काठमाडौं र सुदूरपश्चिमबीच क्वालिफायरको प्रतिस्पर्धा

Read the full story at Setopati

लुम्बिनी शीर्ष स्थानमा पक्का, काठमाडौं र सुदूरपश्चिमबीच क्वालिफायरको प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को लिग चरणका दुई खेल बाँकी रहँदा प्लेअफको समीकरण लगभग पूरा भएको छ। लुम्बिनी लायन्सले शीर्ष स्थान पक्का गरिसकेको छ। अब पहिलो क्वालिफायरमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुंगो लाग्न बाँकी छ। त्यसका लागि काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। लुम्बिनीले ७ खेलबाट ५ जित र एक खेलमा अंक बाँड्दै ११ अंक जोडेको छ। उसले एक खेलमा हार बेहोरेको छ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पनि ७ खेलबाट १० अंक जोडेको छ। काठमाडौं गोर्खाज ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छ। अब काठमाडौंले पोखरा एभेन्जर्स र चितवनले कर्णाली याक्ससँग खेल्न बाँकी छ। यी दुई खेलले दोस्रोदेखि चौथो स्थानसम्मको समीकरण निर्धारण गर्नेछन्। काठमाडौंले पोखरालाई पराजित गरेमा उसको १० अंक हुनेछ। त्यस अवस्थामा काठमाडौं र सुदूरपश्चिमको समान १० अंक हुनेछ।

हाल काठमाडौंको नेट रनरेट ०.८८२ छ भने सुदूरपश्चिमको ०.१३५ छ। त्यसैले काठमाडौंले जित निकालेमा नेट रनरेटका आधारमा दोस्रो स्थानमा पुग्ने सम्भावना बलियो छ। तर अन्तिम खेलपछि दुवै टोलीको नेट रनरेट गणना हुनेछ। दोस्रो स्थानमा रहने टोलीले लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ। काठमाडौं पोखरासँग पराजित भएमा भने उसको अंक ८ मै सीमित हुनेछ।