Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

Read the full story at Onlinekhabar (Nepali)

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ। इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। उनले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आएका हुन्।

‘पहिले बुबाआमाले गर्दै आउनुभएको पेसालाई अहिले हामीले निरन्तरता दिएका छौँ’, उनले भने, ‘गाउँबाट प्रतिघान रु दुई सय ५० मा बाँस खरिद गरी चोया निकालेर सामग्री बनाउने गरेका छौँ। एउटा सामान्य सामग्री तयार पार्न करिब दुई घण्टा लाग्छ। ’ उनले उत्पादन गरेका सामग्रीको मूल्य रु ५० देखि ५०० सम्म पर्ने गरेको छ। पूजाआजामा सीमित समय प्रयोग हुने भएकाले महँगा सामग्रीको बिक्री कम हुने उनको भनाइ छ। उनले स्थानीय हटिया बजारमा सामग्री बिक्री गर्दै आएका छन्।

विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियालगायत सामग्रीको प्रयोग बढी हुने भएकाले विवाहको मौसममा माग बढ्ने गरेको उनले बताए। तिहार र छठ पर्वमा पूजाका लागि पनि यस्ता सामग्रीको प्रयोग हुने भएकाले बिक्री बढ्ने गरेको छ। केही ग्राहक घरमै आएर सामग्री खरिद गर्ने भए पनि उनी आफैँ इनरुवाको सोमबारे र बिहीबारे हटियामा लगेर बिक्री गर्छन्।