Skip to main content
खेलकुदRatopati

फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

Read the full story at Ratopati

फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले क्लबले पोखरा–१७ दोबिल्लामा दुई दशकअघिदेखि ‘सूर्यबहादुर केसी स्मृति’ सहारा आवासीय फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । पछिल्लो समय एकेडेमी सञ्चालनका लागि आर्थिक अभाव भएपछि क्लबले देउसीभैलो खेलेर रकम जुटाएको हो । फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउन क्लबले गत कात्तिक २२ देखि २६ गतेसम्म पाँच दिन देउसीभैलो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष केशववहादुर थापाले बताए ।

उनका अनुसार नेपाली मौलिक कला, संस्कृति र परम्परालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका थिए । सहाराले बर्सेनि पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिता गरेर सोबाट बचत भएको रकमले एकेडेमीमा खर्च गर्दै आएको थियो । गत वर्ष सम्पन्न २५औँ संकरणको फुटबल प्रतियोगितामा बचत रकम न्यून भएपछि क्लबले एकेडेमी चलाउने आर्थिक स्रोतको खोजीका क्रममा देउसी खेलेको हो ।

“हामीले फुटबल खेल विकासका लागि दुई दशकदेखि फुटबल एकेडेमी चलाएर देशका लागि आवश्यक सक्षम फुटबल खेलाडी उत्पादन गर्दै आएका छौँ । पछिल्लो समय एकेडेमी चलाउन आर्थिक रूपमा समस्या पर्दै गएपछि आम्दानीका अन्य स्रोतको खोजी गरिरहेका छौँ”, अध्यक्ष थापाले भने ।