Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

Read the full story at Onlinekhabar (Nepali)

३ महिनामा ५९० गैरआवासीय नेपाली नागरिकता जारी

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ ।

गैरआवासीय नेपाली नागरिकता संविधान र नागरिकता ऐन २०६३ को दफा ७(क) बमोजिम विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेका साविकका नेपाली नागरिक वा तिनका सन्तानलाई प्रदान गरिने विशेष किसिमको नागरिकता हो । सार्क सदस्य राष्ट्रबाहेकका विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले यो सुविधा प्राप्त गर्दछन् । आफू वा आफ्नो बाबु/आमा, बाजे/बज्यै साविकमा नेपालको वंशज वा जन्मको आधारमा नागरिक भएको अवस्थामा गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउँछन् । नेपालमा सम्पत्ति आर्जन गर्न, भोग गर्न, बेचबिखन गर्न र अन्य कारोबार गर्न पाउँछन् ।

तर, नेपालमा राजनीतिक अधिकार मतदान गर्न र निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकताको आधारमा नेपाली राहदानी लिन मिल्दैन । गैरआवासीय नेपाली नागरिक नेपालको सरकारी वा सार्वजनिक पदहरूमा बस्न पाउँदैनन् ।