Skip to main content
समाजRatopati

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

Read the full story at Ratopati

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

बीबीसी । इटालीको उत्तरी क्षेत्रमा पर्ने डोलोमाइट्स पर्वतको दुर्गम गुफामा हिमयुगका गुफामा बस्ने विशाल भालु (केभ बियर)का सयौँ हड्डी र खप्पर फेला परेका छन् । करिब २४ हजार वर्षअघि लोप भएको मानिने हिमयुगिन केभ बियरका अवशेष भेटिएपछि वैज्ञानिकहरूले यसलाई हिमयुगको जीवजन्तु र वातावरणबारे नयाँ जानकारी प्राप्त गर्ने महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् । इटालीको दक्षिण टायरोल क्षेत्रमा पर्ने फानेस–सेनेस–ब्राइस प्राकृतिक निकुञ्जभित्र रहेको उक्त गुफा पर्वतारोहण गाइड कुर्ट वाल्डेले सन् २०२६ को जुलाईमा पत्ता लगाएका हुन् ।

समुद्री सतहबाट करिब दुई हजार ८५० मिटर उचाइमा रहेको गुफासम्म पुग्न उनले अत्यन्त जोखिमपूर्ण चट्टानी भीर पार गर्नुपरेको थियो । ४१ वर्षदेखि पर्वतीय गाइडका रूपमा काम गर्दै आएका वाल्डेले यसअघि सन् १९८७ मा पत्ता लागेको कन्टुरिनेस गुफाको अध्ययन र भ्रमण गराउँदै आएका थिए । उक्त गुफामा पनि हिमयुगीन भालुका अवशेष भेटिएका थिए । तर, लामो समयदेखि उनलाई त्यही क्षेत्रमा अर्को गुफा पनि हुन सक्ने शङ्का थियो ।

करिब साढे तीन वर्षअघि पर्वतको एउटा भीरमा कालो दागजस्तो देखिएको स्थानलाई उनले सम्भावित गुफाको प्रवेशद्वारका रूपमा पहिचान गरेका थिए । त्यसपछि लामो समयको प्रयासपछि जुलाई २०२६ मा उनी त्यहाँ पुग्न सफल भए । गुफाभित्र प्रवेश गर्दा टर्चको प्रकाशमा उनले हड्डी र खप्परहरू छरिएको असाधारण दृश्य देखे ।