Skip to main content
समाजNagarik News

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

Read the full story at Nagarik News

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो । ‘नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटिका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहोर्‍याएर समेत टीका लगाउन आउने गरेका छन्’, अध्यक्ष सुवेदीले भने ।

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई विदेशी पर्यटकमाझ प्रत्यक्ष अनुभव गराउने कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।