Skip to main content
समाजNepal Khabar

हेटौँडामा बन्दैछ ३ करोड लगानीमा महिलामैत्री पार्क

Read the full story at Nepal Khabar

हेटौँडामा बन्दैछ ३ करोड लगानीमा महिलामैत्री पार्क

महिलालाई दैनिक कामको व्यस्तताबाट केही समय निकालेर विश्राम गर्ने, मनोरञ्जन गर्ने र सामुदायिक गतिविधिमा सहभागी हुने अवसर उपलब्ध गराउने उद्देश्यले उपमहानगरपालिकाले पार्क निर्माण गरिरहेको हो। हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाको पहलमा हेटौँडा-८ कमानेस्थित पुरानो पार्कलाई व्यवस्थित र सुविधासम्पन्न महिलामैत्री पार्कका रूपमा विकास गर्न लागिएको हो।

उपमहानगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा जग्गामा पार्क निर्माण भइरहेको छ। ३ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पार्कमा हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युएनओपीएस) को ७० प्रतिशत लगानी रहेको छ।

आगामी मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पार्कलाई महिलाका लागि विश्राम र मनोरञ्जनको स्थलका रूपमा मात्र नभई सामुदायिक गतिविधि तथा सामाजिक अन्तरक्रियाको केन्द्रका रूपमा समेत विकास गर्ने योजना छ। नगरप्रमुख लामाका अनुसार हेटौँडाका महिलाले उत्पादन गरेका सामग्री राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगिरहेको अवस्थामा महिलाको उद्यमशीलता विकाससँगै उनीहरूको व्यक्तिगत जीवन र मनोरञ्जनलाई पनि प्राथमिकता दिन आवश्यक देखिएको हो।