Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

Read the full story at Onlinekhabar (Nepali)

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

२६ कात्तिक, स्याङ्जा । उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ ।

भाइटीकाका दिन बहिनीले दाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन् । उमेरले दुवैलाई शताब्दीको नजिक पुर्‍याए पनि उनीहरूबीचको स्नेह र आत्मीयता भने उस्तै देखिएको छ । तिहार अर्थात् यमपञ्चकमा भाइटीकालाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर माला पहिर्‍याउने र सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने परम्परा छ । समयसँगै उमेर ढल्किए पनि दाजुभाइबीचको सम्बन्ध र मायामा कमी नआएको पड्काङको यो दृश्यले भाइटीकाको सांस्कृतिक र भावनात्मक महत्त्वलाई सम्झाएको छ । यो केवल चाडपर्वको परम्परा मात्रै नभई जीवनभर कायम रहने पारिवारिक प्रेम, सम्मान र आत्मीयताको उदाहरण बनेको छ ।