Skip to main content
समाजNagarik News

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

Read the full story at Nagarik News

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ । थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ ।

कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन् । तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए । कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताउनुभयो ।

त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उनले बताए । थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो ।