Skip to main content
समाजBizmandu

नेपालगन्जका तीन कृषि विद्यार्थीले गरे फूलखेती, १० कट्ठामा जग्गामा ११ क्वीन्टल उत्पादन

Read the full story at Bizmandu

बाँके। कृषिमा स्नातक तह पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन्। फूल बिक्रीबाट चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेका हुन्।

उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ। नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको फूल ११ क्विन्टल भएको र त्यसबाट चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएको सिग्देलले बताए। सबै फूल सकिएपछि पनि माग अझै भएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको जानकारी उनले दिए। फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए।

यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको खेतीबाट आयातित फूललाई विस्थापित गर्न सफल भएको उनले बताए। केसीले भाइटीकाअघि नै सबै फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि अग्रिम बुकिङ गर्नेलाई निराश नपारेको उल्लेख गरे।