Skip to main content
अर्थतन्त्रNagarik News

बैंक संकटपछि पेना पदमुक्त, घरमै नजरबन्द

Read the full story at Nagarik News

बैंक संकटपछि पेना पदमुक्त, घरमै नजरबन्द

पाराग्वेका राष्ट्रपति सान्टियागो पेना युएनो बैंकको ठूलो संकटसँग जोडिएको विवादपछि पदबाट हटाइएका छन्। पदबाट हटाइएलगत्तै अधिकारीहरूले विश्वासघातसम्बन्धी आरोपमा उनलाई घरमै नजरबन्दमा राखेका हुन्। सिनेटमा उपस्थित सबै ४४ सांसदले पेनालाई पदबाट हटाउने पक्षमा मतदान गरेका थिए। नियामक निकायले युएनो बैंक नियन्त्रणमा लिएपछि देशमा राजनीतिक र आर्थिक संकट चर्किएको छ।

बैंकका धेरै ग्राहकले आफ्नो बचत निकाल्न र बैंक कार्ड प्रयोग गर्न नपाएपछि जनआक्रोश पनि बढेको छ। अधिकारीहरूले पेनालाई कानुनी अनुसन्धानका क्रममा सम्पर्कमा रहन आदेश दिएका छन्। मुद्दामा संलग्न एक अभियोजक सिल्भिया गोन्जालेजले भनिन्, ‘उनी उपलब्ध छन् र सबै कानुनी प्रक्रियाका लागि अधिकारीको सम्पर्कमा छन्।’ सांसदहरूले पेनाले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर ठूलो रकम सार्वजनिक कोष युएनो बैंकमा राख्न सहयोग गरेको आरोप लगाएका छन्। बैंकभित्र जोखिमपूर्ण कारोबार भइरहेको जानकारी हुँदाहुँदै पनि नियामक निकायले पर्याप्त कदम नचालेको आरोप पनि लागेको छ।

पेना भने आफूले कुनै गलत काम नगरेको बताउँछन्। पेनाको ठाउँमा उपराष्ट्रपति पेड्रो आलियाना नयाँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। उनले अगस्ट २०२८ सम्म बाँकी कार्यकाल पूरा गर्नेछन्। नयाँ सरकारसामु अहिले बैंकका ग्राहकको बचत फिर्ता गराउने र बैंक संकटका जिम्मेवारमाथि कारबाही गर्ने चुनौती छ।