Skip to main content
विश्वRatopati

भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ विदेशी वक्तालाई रोक्यो

Read the full story at Ratopati

भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ विदेशी वक्तालाई रोक्यो

नयाँदिल्ली । भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छन् ।

उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उनले बताए । थरुरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने कुरा स्पष्ट छैन ।

” उनले थप भनेका छन्, “आफूलाई आलोचनात्मक लाग्ने आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो । ” नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो । यस घटनाको ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले निन्दा गरेको छ ।