Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामा

Read the full story at Nepal Khabar

मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामा

मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।

गत असोज ३० गते नेकपा (एमाले) बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो। अल्पमतमा रहेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीले पनि राजीनामा दिएका हुन्। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अब आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको छ। निवर्तमान ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले राजीनामा दिएको बताए।

सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई पछिल्लो समय देखिएको अल्पमतको समस्याको समाधानका लागि राजीनामा दिएको उनको भनाइ छ। नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग जाने भन्ने विषयमा भने तत्काल केही बताउन चाहेनन्।