Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

Read the full story at Onlinekhabar (Nepali)

उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा

जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार वडा नम्बर ३ का ११ र वडा नम्बर ५ का २७ परिवारले पुर्जा प्राप्त गरेका छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरेका परिवारलाई प्राथमिकताका आधारमा पुर्जा वितरण गरिएको उनले बताए ।

‘भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएका छौँ । बाँकी वडामा पनि प्रक्रिया पूरा भएपछि वितरण गर्दै जानेछौँ,’ नगरप्रमुख बस्नेतले भने । लालपुर्जा प्राप्त गरेसँगै वर्षौंदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व नपाएका परिवारले आफ्नो बसोबास रहेको जग्गामाथि कानुनी अधिकार प्राप्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्लाका विभिन्न स्थानीय तहमा जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको बताए । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । यस्तै, रौतामाई गाउँपालिका–७ का ६५ परिवारको पुर्जा तयार भइसकेको छ ।