Skip to main content
स्वास्थ्यRatopati

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

Read the full story at Ratopati

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैँ बिरामी परेका छन् । अकल्पनीय घटनापछि विक्षिप्त बनेका उनको रक्तचाप घटेपछि स्वास्थ्यमा समस्या देखिएको हो । हाल उनको हेटौंडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा अवधेशले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया जेठी छोरी अनुकुमारी यादव, ७ वर्षीया माइली छोरी दीक्षा यादव र ५ वर्षीया कान्छी छोरी दीपिका यादवलाई गुमाए । सोही दुर्घटनामा उनका २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय भाइ सुबोध यादवको पनि ज्यान गएको छ । दुर्घटनामा परेर घाइते भएका अवधेशका डेढ वर्षीय छोरा सुदीपको भने काठमाडौंमा उपचार भइरहेको छ । छठ पर्व मनाउन उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलस्थित घर फर्कंदै थिए ।

चिसापानीगढीमा भएको उक्त दुर्घटनामा कुल १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गाडीमा सिट नपाएपछि अवधेश भने परिवारसँगै यात्रा नगरी रोकिएका थिए । आफू अर्को दिन आउने भन्दै परिवारका सबै सदस्यलाई गाडी चढाएर उनी डेरामा फर्किएका थिए । बिहान सबेरै दुर्घटनाको खबर सुनेपछि हतारिँदै हेटौंडा आइपुगेका अवधेशले आफूले घर पठाएकामध्ये डेढ वर्षीय छोरामात्र जीवित रहेको थाहा पाएयता सम्हालिन सकेका छैनन् ।