Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

Read the full story at Onlinekhabar (Nepali)

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्रबारदेखि विराटनगरस्थित मेर्लीबन क्रिकेट मैदानमा सुरु भएको हो। कार्तिक २७ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन्। पहिलो खेलमा मोरङले धनकुटालाई ९ विकेटले पराजित गरेको छ।

२० ओभरको खेलमा धनकुटाले दिएको ४६ रनको लक्ष्य मोरङले ६ ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो। मोरङका क्रितिक कामतले अविजित २३ र सकिब हकले अविजित १८ रन बनाए। दिनको दोस्रो खेलमा झापाले पाँचथरलाई १९३ रनले पराजित गरेको छ। झापाले दिएको २५४ रनको लक्ष्य पछ्याएको पाँचथर ६० रनमै समेटिएको थियो। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन सुनसरी र खोटाङ तथा इलाम र ताप्लेजुङबीच खेल हुने बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिएका छन्।

घोषका अनुसार कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी पाँच जिल्लाका क्रिकेट संघले मात्रै नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता पाएका छन्। तर, यसपटकको छनोट प्रतियोगितामा भने ९ जिल्लाको सहभागिता रहेको छ। प्रदेशस्तरीय प्रतियोगितामा पहिलोपटक यति धेरै जिल्लाको सहभागिता भएको उनले बताए।