Skip to main content
अर्थतन्त्रBizmandu

नागढुंगा सुरुङमार्गको एन-ट्याग सानिमा बैंकका देशभरका सबै शाखाबाट लिन सकिने

Read the full story at Bizmandu

काठमाडौं। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीधनीले अब सानिमा बैंकका सबै शाखाबाट एन-ट्याग लिन सक्ने भएका छन्। बैंकले सुरुङमार्गमा सहज र छरितो यात्रा गर्न आवश्यक पर्ने आरएफआइडी प्रविधिमा आधारित एन-ट्याग जारी गर्न सुरु गरेको हो। सडक बोर्ड नेपालद्वारा संचालित सुरुङमार्गमा विद्युतीय टोल संकलन प्रणाली लागू गरिएको छ। यस प्रणालीमार्फत सवारीसाधनले टोल शुल्क तिर्न लाइनमा बस्नुपर्ने झन्झट हट्नेछ।

सवारीसाधनको अगाडिको सिसामा एन-ट्याग स्टिकर टाँसेपछि प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले त्यसलाई स्वतः पहिचान गर्नेछन्। त्यसपछि सम्बन्धित ट्यागबाट टोल शुल्क आफैं कट्टा हुनेछ र गेट खुल्नेछ। यसले यात्रालाई छिटो, सहज र झन्झटरहित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी सुरुङमार्ग प्रवेश गर्ने समयमा हुने भीड र प्रतीक्षाको समस्या कम गर्न यसले सहयोग पुग्नेछ। सवारीधनीले सानिमा बैंकको देशभर रहेका जुनसुकै शाखाबाट एन-ट्याग लिन सक्नेछन्।

बैंकले काठमाडौं उपत्यकामा मात्र सीमित नराखी आफ्नो देशव्यापी शाखा सञ्जालमार्फत यो सेवा उपलब्ध गराएको हो। यसबाट उपत्यका बाहिरका सवारीधनीलाई पनि एन-ट्याग प्राप्त गर्न सहज हुनेछ। एन-ट्यागमा रकम थप्न पनि विभिन्न डिजिटल माध्यम उपलब्ध छन्। सवारीधनीले इसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत ट्याग रिचार्ज गर्न सक्नेछन्।