Skip to main content
राजनीतिRatopati

गृह जिल्ला मुगुमा मुख्यमन्त्री : जनताका गुनासा सुन्दै, पूर्वाधार आयोजनाको अवस्था बुझ्दै

Read the full story at Ratopati

गृह जिल्ला मुगुमा मुख्यमन्त्री : जनताका गुनासा सुन्दै, पूर्वाधार आयोजनाको अवस्था बुझ्दै

मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही यतिबेला गृह जिल्ला मुगुमा छन्। तिहारको अवसर पारेर गृह जिल्ला आएका मुख्यमन्त्री शाहीले प्रदेश सरकारबाट निर्माणाधीन पूर्वाधारका आयोजनाको अनुगमन तथा निरीक्षण कार्यलाई तदारुकता दिएका छन्। बिहीबार शाहीले सदरमुकाम गमगढी र आपपासका क्षेत्रमा रहेका विकासे आयोजनाको अनुगमन गरे। गमढी—पिना सडकको अनुगमन गरेका शाहीले मुन्दुदेखि सेराडिल जोड्ने पुल आयोजनाको अनुगमन गरेका छन् ।

सबै क्षेत्रमा सडक नपुगेकाले शाही पैदल यात्रा गर्दै गाउँ पुगेका थिए । जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र ऋणमोक्ष धामसम्म पुग्ने बाटो बनाउने उद्देश्यसहित मुन्दु गाउँदेखि सेराको डिलसम्म जोड्ने पुलको विकास गरिने योजना रहेको शाहीले बताए । यी ठाउँ निकै विकट छन्। शाहीले अनुगमनसँगै नागरिकका गुनासा, समस्या बुझ्ने काम गरेका थिए । स्थानीयले सडकको समुचित विकास, विद्युत्, खानेपानीजस्ता समस्या नै सुनाएका थिए ।

मुख्यमन्त्री शाहीले आवश्यकता अनुसार, योजना अघि बढ्ने बताए । सँगै शाहीले स्वास्थ्य, विद्यालयका भौतिक संरचनाको पनि अनुगमन गरे । यसैबिच मुगु नै घर भएका सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल पनि बिहीबार मुगु पुगेका छन् । मुख्यमन्त्री, मन्त्रीले शुक्रबार जिल्लाका उत्तरी क्षेत्रमा पुगेर विकासे आयोजनाको अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।