Skip to main content
स्वास्थ्यNagarik News

पहिलोपटक तौल घटाउने खाने औषधि स्वीकृत, चीनले ल्यायो मोटोपना घटाउने चक्की

Read the full story at Nagarik News

पहिलोपटक तौल घटाउने खाने औषधि स्वीकृत, चीनले ल्यायो मोटोपना घटाउने चक्की

चीनले पहिलोपटक मुखबाट सेवन गरिने जीएलपी-१ समूहको तौल घटाउने औषधिलाई स्वीकृति दिएको छ। अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो। चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना भएका वा बढी तौलसँगै कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो। दिनमा एक पटक सेवन गर्नुपर्ने यो औषधि अमेरिकामा पनि सन् २०२६ को अप्रिलमा स्वीकृत भएको थियो।

यो स्वीकृतिसँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी-१ समूहको तौल घटाउने औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ। यसअघि चीनमा एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले सुईमार्फत दिइने जीएलपी-१ समूहका औषधि उपलब्ध गराउँदै आएका थिए। एली लिलीले चीनमा आधिकारिक स्वास्थ्य संस्था र औषधि वितरकमार्फत औषधि उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ। तर, कम्पनीले यसको मूल्य र बजारमा उपलब्ध हुने निश्चित मिति सार्वजनिक गरेको छैन।

जीएलपी-१ समूहका औषधिले शरीरमा प्राकृतिक रूपमा पाइने भोक नियन्त्रण गर्ने र रगतमा चिनीको मात्रा व्यवस्थापन गर्ने हर्मोनको नक्कल गर्छन्। यसले भोक कम गर्न र तौल घटाउन सहयोग पुर्‍याउँछ। सुईमार्फत दिइने औषधिको विकल्पका रूपमा खाने औषधि ल्याउन औषधि उत्पादक कम्पनीबिच प्रतिस्पर्धा बढिरहेको छ।