Skip to main content
समाजOnlinekhabar (Nepali)

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २४ सय ८६ जनाले गरे यात्रा

Read the full story at Onlinekhabar (Nepali)

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २४ सय ८६ जनाले गरे यात्रा

२५ कात्तिक, काठमाडौं । तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको सेवाअन्तर्गत काठमाडौंको रिङरोड क्षेत्रमा चल्ने बसबाट १ हजार ७६६ जना र भक्तपुरसम्म सञ्चालन भएको बसबाट ७२० जनाले यात्रा गरेका थिए । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेका दुई बसले छुट्टाछुट्टै रुटमा सेवा दिएका थिए । एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सेवा दिएको थियो ।

त्यस्तै, स्वयम्भूदेखि भक्तपुरसम्म सञ्चालन भएको बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिएको थियो । दसैँ तथा तिहारजस्ता चाडपर्वमा सार्वजनिक यातायातको अभावलाई न्यूनीकरण गरी नागरिकलाई सहज यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।