Skip to main content
राजनीतिRatopati

सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न : राज्यको लाखौँ खर्चको हिसाब जनतालाई खोइ ?

Read the full story at Ratopati

सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न : राज्यको लाखौँ खर्चको हिसाब जनतालाई खोइ ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूको राज्यकोषबाट हुने विदेश भ्रमणको पारदर्शिता र औचित्यमाथि प्रश्न उठाएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सांसदहरू विदेश भ्रमणमा जाँदा आफ्नै पार्टीभित्रका अन्य सांसद तथा सम्बन्धित समितिका सदस्यहरूलाई समेत जानकारी नहुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले विभिन्न संसदीय समितिमा रहेका सांसदहरू आफ्ना समितिमार्फत विदेश भ्रमणमा जाने र फर्किने गरे पनि भ्रमणको उद्देश्यबारे सम्बन्धित समितिकै अन्य सदस्यहरू अनभिज्ञ रहने गरेको उल्लेख गरेकी छन्। ‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ?’ भन्दै प्रश्न गरेकी तामाङले विदेश भ्रमणको उद्देश्य, प्रक्रिया र त्यसबाट प्राप्त उपलब्धिबारे जनताले स्पष्ट जानकारी पाउनुपर्ने बताएकी छन्। राज्यकोषबाट लाखौँ रुपैयाँ खर्च गरेर गरिने यस्ता भ्रमणले देश, जनता र स्वयं सांसदहरूलाई के उपलब्धि दिन्छ भन्ने विषय सार्वजनिक हुनुपर्ने उनको माग छ।

उनले विदेश भ्रमणको नाममा समुद्री तटमा फोटो खिच्ने र टिकटक बनाउने गतिविधि मात्र देखिने गरेको भन्दै सांसदहरूका सामाजिक सञ्जालमा सार्वजनिक हुने तस्बिर तथा गतिविधिप्रति समेत व्यङ्ग्य गरेकी छन्।