Skip to main content
स्वास्थ्यNagarik News

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

Read the full story at Nagarik News

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ। प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताए।

उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उनले बताए।

“सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भने, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताइन्।