Skip to main content
समाजRatopati

तेलुगु फिल्मका लोकप्रिय अभिनेता तथा निर्देशक गिरी बाबुको निधन

Read the full story at Ratopati

तेलुगु फिल्मका लोकप्रिय अभिनेता तथा निर्देशक गिरी बाबुको निधन

हैदराबाद । तेलुगु फिल्मका लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक गिरी बाबुको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा शनिबार हैदराबादस्थित एक निजी अस्पतालमा निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित उनले फिल्म क्षेत्रमा पाँच दशक बढी समय बिताएका छन् । ६०० भन्दा बढी फिल्ममा काम गरेका उनको निधनप्रति तेलुगु फिल्म क्षेत्रका कलाकार र प्रशंसकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

गिरी बाबु प्रकाशम जिल्लाको रविनुथला गाउँस्थित एक मध्यमवर्गीय किसान परिवारका सदस्य थिए । फिल्ममा करियर बनाउने उद्देश्यले उनी मद्रास गएका थिए । सन् १९७३ मा फिल्म ‘जगमे माया’ बाट उनले आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए । करियरको प्रारम्भमा मुख्य अभिनेताका रूपमा काम गरेका उनले पछि खलनायक र हास्य भूमिकामा समेत अभिनय गरे । उनका छोरा रघुबाबु पनि टलिउडका चर्चित हास्यकलाकार हुन् ।

गिरी बाबुका ‘करुणामयुडू’, ‘सिम्हा गर्जना’, ‘काञ्चु कागडा’, ‘सिंहासनम’, ‘खड्गम’, ‘अथाडू’, ‘गम्यम’, ‘दमरुकम’ र ‘गीत गोविन्दम’ लगायतका फिल्मलाई दर्शकले निकै रुचाएका थिए । अभिनयका अतिरिक्त गिरी बाबुले निर्माता र निर्देशकका रूपमा पनि आफूलाई स्थापित गरेका छन् । ‘जयभेरी पिक्चर्स’ नामक प्रोडक्सन हाउस स्थापना गरी थुप्रै फिल्म निर्माण गरे । उनले ‘रणरंगम’, ‘इन्द्रजीत’ र ‘नी सुखामे नी कोरुथुन्ना’ जस्ता फिल्मको निर्देशन गरेका छन् ।