Skip to main content
राजनीतिNagarik News

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

Read the full story at Nagarik News

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका हुन्। परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उनले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाएका छन्।

उनले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बेच्दै आएका छन्। “गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,” रानाले भने, “बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ अरू आम्दानीको स्रोत छैन यसैबाट घरखर्च चलेको छ।” उनले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आएका छन्। गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी गर्दै आएको रानाले बताए।

“गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक रु दुई/दुई लाख आम्दानी हुन्छ”, रानाले भने, “२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु।” उनले यस वर्ष प्याजको बेर्ना मात्रै २५ हजार रुपैयाँको बिक्री गरेको बताए। यसबाहेक अन्य बन्दा, काउली लगायत तरकारीको बेर्ना बिक्रीबाट एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।