Skip to main content
अर्थतन्त्रNagarik News

तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापार

Read the full story at Nagarik News

तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापार

तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ। धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बेच्दै तिहार खर्च जुटाउँदै छन्। उनले भने, “बिहान र साँझ बजार राम्रो चल्छ।

दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन् तर साँझपख भीडभाड बढ्छ। सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ। अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ तिहार खर्च यसै व्यापारबाट जोहो गर्ने हो। ” तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बेच्न व्यस्त छन्।

दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन्। बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ। दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ। यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ।