Skip to main content
विश्वSetopati

युद्धबन्दी रिहा गर्न रूस र युक्रेन तयार, युद्ध अन्त्यबारे भने हुन सकेन सहमति

Read the full story at Setopati

युद्धबन्दी रिहा गर्न रूस र युक्रेन तयार, युद्ध अन्त्यबारे भने हुन सकेन सहमति

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा दुई दिनसम्म चलेको शान्ति वार्तामा दुवै देश युद्धबन्दी साटासाट गर्न सैद्धान्तिक रूपमा सहमत भएका हुन्। ९ महिनापछि पहिलोपटक भएको प्रत्यक्ष वार्तामा युद्धबन्दी साटासाट गर्ने सहमति भएको हो। त्यसको संख्या बिहीबार टुङ्गो लगाइनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नरले यो युद्ध सुरू भएयताकै सबैभन्दा ठूलो मानवीय आधारको युद्धबन्दी रिहाइ हुने बताएका छन्।

रोयटर्सका अनुसार वार्तामा सहभागी दुवै देशले प्रगति भएको बताएका छन्। तर युद्ध अन्त्य गर्ने ठोस सहमति भने सार्वजनिक भएको छैन। कुश्नरले दोस्रो विश्वयुद्धपछि युरोपकै ठूलो द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थकर्ताले दुवै पक्षको हितलाई ध्यानमा राखेर छलफल गरिरहेको बताए। तर अहिले दुवै देशबीच विश्वासको वातावरण नरहेको उनको भनाइ छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौताका लागि युक्रेनले पूर्वी क्षेत्र डोनबासको पूरै भूभाग छाड्नुपर्ने माग गर्दै आएका छन्। भूभागको विषयमा वार्ता अड्किएपछि अमेरिकी मध्यस्थकर्ताले युद्धपछिको सुरक्षा प्रत्याभूति र पुनर्निर्माणका विषयमा छलफल अघि बढाउन खोजेका छन्। कुश्नर र अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफ बिहीबार रूसी राष्ट्रपति पुटिनसँग वार्ता गर्न मस्को जाने कार्यक्रम छ। उक्त भेटमा युरोपेली देशलाई पनि शान्ति वार्तामा सहभागी गराउने विषय उठाउने कुश्नरले बताएका छन्।