Skip to main content
अर्थतन्त्रRatopati

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

Read the full story at Ratopati

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त पिचमा बलले अपेक्षाअनुसार गति नपाउँदा ब्याटिङ सहज हुन सकेन । त्यसको प्रत्यक्ष प्रभाव दुवै खेलको स्कोरमा देखियो ।

शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई ७ रनले हरायो । दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्‍यो । दुवै खेलमा पहिले ब्याटिङ गर्ने टोलीले ठूलो स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमले १२५ र जनकपुरले ८८ रन मात्रै बनाएका थिए । कम स्कोरका बाबजुद दुवै खेल प्रतिस्पर्धात्मक बने ।

पहिलो खेलमा काठमाण्डुले १२६ रनको सामान्य लक्ष्य पनि भेट्टाउन सकेन भने दोस्रो खेलमा चितवनले ८९ रनको लक्ष्य पछ्याउँदा ६ विकेट गुमाउनुपर्‍यो । यसले शुक्रबारको पिचमा ब्याटिङ कति चुनौतीपूर्ण थियो भन्ने देखाउँछ । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डुलाई हराउँदै लगातार तेस्रो संस्करणमा प्लेअफमा स्थान बनायो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवार ब्याटिङ गर्दै ५५ बलमा २ छक्का र ५ चौकासहित ६० रन बनाए ।