Skip to main content
राजनीतिNagarik News

सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी

Read the full story at Nagarik News

बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्। समाजमा विद्यमान कुरीतिविरुद्ध आफैँ नेतृत्व गर्दै जनचेतना फैलाउने उद्देश्यले उनीहरूले सडक नाटक, पटकथा लेखन तथा सन्देशमूलक सामग्री निर्माणसम्बन्धी सीप सिकेका छन्। हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका किशोरकिशोरी पाँचदिने क्षमता विकास तालिमपछि सामाजिक विकृतिविरुद्ध अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन्।

तालिममा सहभागीहरूले बालविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालबालिकामाथि हुने दुर्व्यवहार र विभेदविरुद्ध सडक नाटक तथा सचेतनामूलक र्‍यालीमार्फत समुदायलाई सचेत बनाउने प्रतिबद्धता जनाएका छन्। हिमा गाउँपालिकाकी दीर्घा बमले तालिमबाट सामाजिक कुरीतिविरुद्ध सडक नाटकमार्फत आवाज उठाउने सीप सिक्ने अवसर पाएको बताइन्। ‘बालविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा तथा अन्य हानिकारक अभ्यासविरुद्ध कसरी आवाज उठाउन सकिन्छ भन्ने सिकेका छौँ,’ उनले भनिन्, ‘अब सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नै समुदायमा सचेतनामूलक अभियान सञ्चालन गर्नेछौँ।’ कनकासुन्दरी गाउँपालिकाका कपिल न्यौपानेले तालिमअघि सडक नाटकको पटकथा लेखन, संवाद निर्माण र प्रभावकारी रूपमा सन्देश प्रस्तुत गर्ने तरिकाबारे पर्याप्त जानकारी नभएको बताए।

तालिमले नयाँ सीप र अनुभव दिएको उनको भनाइ छ।