Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

Read the full story at Onlinekhabar (Nepali)

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन अहिले २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ । यद्यपि गत वर्षको माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

उच्च मूल्यबाट भने प्रतितोला ५५ हजार रुपैयाँले सुनको भाउ घटिसकेको छ । नेपाली बजारमा एक वर्षमा सुनको मूल्य १७.७२ प्रतिशत बढे पनि अन्तर्राष्ट्रिय बजारमा जम्मा ३.५४ प्रतिशत बढेको छ । नेपालमा बजेटमार्फत बढाइएको भन्सार दर तथा अमेरिकी डलरको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा सुनको मूल्य वृद्धि उच्च देखिएको हो । गत बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएको हो । त्यस्तै चाँदीले एक वर्षमा २५.७७ प्रतिशतको प्रतिफल दिएको छ ।

गत वर्षको कात्तिक २४ गते चाँदीको मूल्य प्रतितोला ३०६५ रुपैयाँ रहेकोमा हाल ३ हजार ८५५ रुपैयाँ छ । गत वर्षको माघ १५ गते चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँसम्म पुगेको रेकर्ड छ । त्यसयता भने चाँदीको मूल्य झन्डै आधा अर्थात् तोलामा ३ हजार ६५० रुपैयाँ घटिसकेको छ। उच्च मूल्य पुगेका बेला सुन वा चाँदी खरिद गर्नेहरूले हाल मूल्य गुमाएका पनि छन् ।