Skip to main content
राजनीतिRatopati

‘स्यान्डपेपर’ काण्डमा ख्वाजाको दाबी ‘शतप्रतिशत गलत र बकवास’: कमिन्स

Read the full story at Ratopati

‘स्यान्डपेपर’ काण्डमा ख्वाजाको दाबी ‘शतप्रतिशत गलत र बकवास’: कमिन्स

सिड्नी । अस्ट्रेलियाली क्रिकेट टोलीका कप्तान प्याट कमिन्सले सन् २०१८ को बहुचर्चित ‘स्यान्डपेपर’ (बल टेम्परिङ) काण्डबारे पूर्वसहकर्मी उस्मान ख्वाजाले लगाएको आरोपको प्रतिवाद गरेका छन्। सन् २०१८ मा दक्षिण अफ्रिकाको केपटाउनमा भएको टेस्ट खेलका क्रममा अस्ट्रेलियाली खेलाडी स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन ब्यानक्रोफ्ट बल बिगार्न स्यान्डपेपर प्रयोग गरेको घटनामा दोषी ठहरिँदै प्रतिबन्धमा परेका थिए।

हालै प्रकाशित आफ्नो आत्मकथामा पूर्वब्याटर ख्वाजाले बल टेम्परिङको योजनाबारे कमिन्ससहित टोलीका सबै खेलाडीलाई पूर्वजानकारी रहेको र उनीहरूले पनि जिम्मेवारी लिनुपर्ने उल्लेख गरेका छन्। सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा ख्वाजाको भनाइको प्रतिवाद गर्दै कमिन्सले भने, ‘मैदानमा स्यान्डपेपर लगिँदैछ भन्ने कुरा हामी सबैलाई थाहा थियो भन्ने उनको दाबी शतप्रतिशत गलत हो। ’ आफूले पछिल्लो आठ वर्षदेखि यही कुरा निरन्तर बताउँदै आएको स्मरण गराउँदै कमिन्सले थपे, ‘त्यस्तो भइरहेकोबारे मलाई कुनै जानकारी थिएन।

म र अन्य खेलाडीहरू बल बिगार्ने योजनाका योजनाकार थियौँ भन्नु पूरै बकवास हो। ’ गत जनवरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुअघिसम्म ख्वाजा र कमिन्सले सँगै ५६ वटा टेस्ट खेल खेलेका थिए। सन् २०११ मा कमिन्सले टेस्टमा डेब्यु गर्दा ख्वाजा पनि टोलीमा थिए भने घरेलु क्रिकेटमा समेत उनीहरूले न्यु साउथ वेल्सबाट सँगै खेलेका थिए।