Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

Read the full story at Onlinekhabar (Nepali)

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

२२ कात्तिक, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँ बजेटबाट स्तुपा निर्माण गरिएको हो । स्तुपा निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

काठमाडौँस्थित बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर निर्माण गरिएको उक्त स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको स्तुपाले पाँचधारेको धार्मिक महत्व थप बढाएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।