Skip to main content
प्रविधिThaha Khabar3 outlets covering

डिजिटल धुनको भीडमा पनि हराएन मादलको ताल

Read the full story at Thaha Khabar

डिजिटल धुनको भीडमा पनि हराएन मादलको ताल

सुनसरीः तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ। तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन्। आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन। तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन्।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए। विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आउनुभएका उहाँका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ। चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आउनुभएको छ।

उहाँले रु तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्री गर्दै आउनुभएको छ। पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन्। आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।